२०८३ बैशाख १८

फुललाई जोगाउन माली नै बन्न पर्ने रहेछ।

हो म श्वास लिन सक्छु र श्वास फ्याँक्न सक्छु। चल्न सक्छु। सुन्न सक्छु। आवाज निकाल्न सक्छु तर म बोल्न सक्दिन। यो भन्दा बाहेक “म” र एउटा मुर्दा बिच अरु फरक केही छैन। भिन्नता छैन। उफ… लाससँग आफुलाई तुलना गरेर लासलाई पनि किन होच्याउनु। किन अपमान गर्नु। आफू किन राम्रो बन्न खोज्नु। म त एउटा लासको जति हैसियत पनि नभएको मान्छे। आफ्नो स्वाभिमानको लागि एउटा लास जल्न तयार हुन्छ। जमीन मुनि गाडिन तयार हुन्छ। कसैले वास्ता नगरे उ आफै पनि कुहिन सक्छ। मेरो यत्ती पनि ल्याकत छैन र भएन पनि। म केही गर्न सक्तिन। अनि के तुलना गर्नु लाससँग आफुलाई।

अँध्यारो हुन रात पर्न नपर्ने रहेछ। दिन ढलेर साँझ आउनै नपर्ने रहेछ। मन ढले पुग्ने रहेछ। अन्धकार अँध्यारो सबै तिर। थिचिन आकाश खस्न नपर्ने रहेछ। भएको आशहरु खसे पुग्दो रहेछ। पोल्नलाई जल्न नपर्ने रहेछ। अकल्पनीय चिस्यानहरुको बर्षात भै दिए पुग्ने रहेछ। आँसु आस मरे पछि आँखा सम्म आउन खासै उकाली नचढ्ने रहेछ। खस्ने रहेछ दिल भित्रै। बस्ने रहेछ मुटु छेउ। डस्ने रहेछ जिन्दगीभर…

कती बेला दुख्नलाई आफू रेटिनै नपर्ने रहेछ। रुनलाई आफैँलाई दुख्नै नपर्ने रहेछ।

जिन्दगी चलाउन। स्वाभिमान बचाउन। भविष्यलाई उज्यालो बनाउन खाएको जा-गिर नै नमिठो लाग्ने रहेछ। जति बेला बार-बार, पटक पटक गिर्न पर्छ जा-गिरको अर्थ त्यतिबेला बुझिने रहेछ। जा-गिर…। न हिजो राम्रो भयो न आज राम्रो चल्दैछ। भोलिको दिन खै क हुन्छ।

मुर्दा यानिकी लासको कुरा गर्दै थिएँ। अकस्मात अर्कै विषयमा प्रवेश गरेछु। जा-गिर…

एउटा ढकमक्क फुलेको फुल। म त्यो फुललाई अचम्मै प्रेम गर्छु। म त्यही फुलको रक्षार्थ बार बनेर उभिएको थिएँ। तर आज केही पुजारीहरु त्यो फुल आफ्नो भगवान खुसी बनाउन प्रयोग गर्न लाग्दैछ। फुल आफैमा रमाउन खोज्दै थियो। अकस्मात माली फुल टिप्न लाग्छ। फुल आफुमा भएको काडाहरु प्रयोग गरेर बच्न खोज्छ। बचाउन खोज्छ तर कसै गरे पनि बच्न सक्दैन। म बार बनेर छेउमा उभिएको छु। मालीले फुललाई चुडेर लान्छ। दिन्छ पुजारीलाई। चढाउछ भगवान खुसी बनाउन। भगवानको पाउमा पुजारीहरु। फुललाई बचाउन माली हुन पर्ने रहेछ। बार बनेर छेउमा उभिनु भनेको हार मान्नु बाहेक केही नसकिने रहेछ माली अनि पुजारीहरुको अगाडि। फुललाई जोगाउन माली नै बन्न पर्ने रहेछ। फुलबारीको छेउमा बार बनेर उभिएर मात्रै फुलको रक्षा गर्न नसकिने रहेछ। प्रीय फुल। मलाई माफ गरिदिनु है। म फुलबारीको डिलमा तिम्रो छेउमै भएर पनि तिमीलाई बचाउन सकिन। म त श्रीफ बार बनेर गाढिएको रहेछु। 

प्रीय फुल।

तिमी फुल हौ। तिमीलाई माली या पुजारी या अरु जो सुकैले कुल्चिन, चुड्न, निमोठ्न, भाँच्न या च्यातेर फाल्न जे प्रयास गरोस् सहनु। आफुलाई कमजोर नबनाउनु। मन नमार्नु। असिना, पानी, हावाहुरी यो सब सहेर तिमी आजको दिन सम्म छौ। अझै सहनु। सहनेहरुलाई समयले मीठो फल अवस्य दिन्छ।

तिम्रो छेउमा बार बनेर गाडिएको म तिमी जल्दै गर्दा टुलुटुलु हेरेर बस्न बाहेक अरु केही गर्न सक्दिन। तिमी माथी बचनका तिर, भाला, खु*कुरी र छुरा चल्दै गर्दा पनि केही गर्न सकिन। म लाचार भएँ। विवसताले मलाई न्याक्यो। अब त तिम्रो लागि म छु नि भन्न पनि सरम लाग्न लाग्यो। लाज लाग्न लाग्यो। म लवेस्तरो भएँ। म भएर पनि तिमीलाई म भएको आभास दिलाउन बाहेक केहि गर्न सकिन। तिमीलाई संसारमा सबै भन्दा धेरै प्रेम गर्छु। त्यही प्रेम माथी कसैले धावा बोल्दा म प्रतिकारमा उत्रन सकिन।

प्रीय फुल, नआत्तिनु समयले सबैको मुल्यांकन गरेको हुन्छ। हामी माथी अन्याय गर्नेहरुको पनि मुल्यांकन गरेकै छ होला। मन रुवाउनेहरुको छिट्टै मलामी जान पाउँ। भगवानसँग यहि प्रार्थना गरेर बसेको छु।

प्रीय फुल, दुनियाँले जे देखोस जे भनोस। कुनै फिकर नलिनु। तिमीलाई सँधै सिरमा सजाएर राख्नेछु। मर्दा जुठो सम्म बार्न नपर्नेहरुको व्यबहारलाई लिएर मन नमार्नु। तिम्रो छेउमा तिम्रो रक्षार्थ गाडिएको बारको तिमीलाई सधै माया सधै प्रेम सधै सम्झना। 

म एउटा टुक्रा काठ हुँ। म गाडिएको छु। म बार हुँ। म ढल्न सक्छु र जल्न पनि। यत्ती सम्म पनि नहेपोस कि मलाई ती हेपाहहरुलाई आफू जल्दै सँगै जलाउन आउँछ।

प्रीय फुल मीठो माया सुमधुर सम्झना।

अ-टो डायरी- प्रेम कथा

हिजो आज जस्तो मोबाईल-फोन, फेसबुक, ईमो भाईबर अनि इन्स्टाग्राम कहाँ थियो र। जे हुन्थ्यो सबै कुरा फेस-टु फेस हुन्थ्यो। कुनै कुनै कुराको हुलाकी साथी भाई हुन्थे। केहि केहि कुरा चिट्ठी पत्रले बोक्थ्यो। र पनि त्यो समय अचम्मै रमाइलो थियो। अविस्मरणीय पनि। कहाँ खुसी दिन सक्छ र। हिजोआजको यो आधुनिक प्रविधिले त्यो जमानाले जस्तो।

त्यो ताका स्कुल पढ्ने बेलामा रंगीन रंगले प्रेमील अक्षर कोरेर नयाँ वर्ष, दशैं- तिहार, यस्तै अरु पर्व अनि जन्मोत्सवमा Post card दिन्थ्यौ लिन्थ्यौँ। ति मध्ये कुनै-कुनै अझै पनि सुरक्षित छन्।

आफ्नो भावना, रुची-अभिरुचि, मन पर्ने नपर्ने, सप्पै कुरा लेखिन्थ्यो अनि नाम-थर, ठेगाना सहित फोटो टाँसेर अटो भरिन्थ्यो।

अटोबाट अधुरो म पनि रहन सकिन। कारण बस् अर्को स्कुल पढ्न जान पर्ने भए पछि सबै साथीहरूको चिनो र सम्जना समेट्न अटोको साथ लिएँ। जानेर नजानेर प्राय जसो साथीहरुले आफ्नो चिनो डायरी (अटो) को पानामा टासिदिए। जुन आज मेरो लागी सम्झनाको साधन बनेको छ।

अटो डायरीको पानाहरु रंगीन छ। स्ट्रीकर, चित्र, अक्षरहरुको समुह मिलेर बसेको छ। हाँसिरहेको छ डायरीको पाना बिच आत्मीय मित्रताको सुन्दर तस्वीरहरु।

आफुले आफुलाई खुबै अभागी महसुस गर्छु। भाग्यमानीहरु जस्तो म छँदै छैन जस्तो लाग्छ। तर कहिले काँही भाग्यकै कुरा गर्दा मन बुझाउने एउटै बाटो भेट्छु। त्यो अरु कोहि हैन। केहि हैन उहि डायरी हो।

भाग्य कै कुरा गर्ने हो भने म भन्दा धेरै अभागी हिजोआज यो अटो डायरीलाई ठान्दछु। पुरानो अटो डायरी पल्टाउदै गर्दा बिधुवाको भेष जस्तै सेतो स्वरुपमा डायरीको बिचमा केहि पानाहरु जिउँदो देख्छु। जब म त्यो जिउँदो पानालाई देख्छु तब म मर्न सुरु गर्छु। त्यही खाली पानाको सिरानी हालेर चिम्लन्छु जिन्दगीको अन्तिम आखा। र फाल्छु आखिरी स्वास।

उसको सुन्दरता, घमण्ड, अहमता या अन्य कारणले यो डायरी भरिएन या यहि डायरीको भाग्यको खोट।मैले बुझनै सकिन। सरिर पुरै रंगीदा पनि रङ्याउन सकेन छाती र छाती भित्रको मुटु।

खाली छ डायरीको सेतो पाना। पाना भरी उनै छिन्। उनैलाई देख्छु, हासी रहेछ निधार माथीको खाली सिउँदो। मलाई गिज्याई रहेछ। जिन्दगी डायरीको पानाहरु बिच देख्छु। जिन्दगी र मृत्युको दोधारमा छु।

न जलाउन सक्छु, न च्यात्न सक्छु साताउने पानाहरु।

सबै भरी चिजहरुले जिन्दगी भर्न सक्दैन। र सबै खाली चिजहरुमा जिन्दगी खाली रहन्न। जस्तैः खाली पानामा मेरो भरी जिन्दगी अल्झिएको छ। म उसलाई चाहेर पनि भुल्न सक्दिन। र उसलाई पाएर पनि म उसको डालीमा फुल्न सक्दिन।

म अन्ततः यहि अठोटमा छु। म यो डायरीको पाना मेरो हातले भुलेर पनि च्यात्ने छैन, जलाउने छैन।

उसको महङ्गो शब्दहरु खरिद गर्न नसकेका बिचरा यि गरिब पानाहरुमा सजाउनेछु मन भरीका कथा ब्यथा र लेख्ने छु जिन्दगीको एक एक अक्षरहरु। मसिले हैन आशुले लेख्ने छु। जब नयनमा आशुको खडेरी लाग्छ खुनले लेख्छु। जब खुनले बैगुन गरेर साथ दिन छोड्छ तब तिम्रो नाममा धड्किने मनलाई झिकेर टंग्याउने छु यि डायरीको पानामा जहा तिम्रो सुन्दर तस्वीर बस्न मानेको थिएन। तिमीलाई बारम्बार याद गरिरहने यो दिमागलाई पनि बाकी कहा छोडुला र। तिम्रो भागमा छुट्टिएको अन्तिम पानामा कोर्नेछु सम्झनाका धर्साहरु। बुझनै नसकिने दिमागको जालो जसरी।

उतार्ने छु म आफुलाई तिमीले छाडेको पानाहरुमा। आत्त्मालाई डायरीको साथमा छाडेर लास बनि दिन्छु। तर तिमी भुलेर पनि नरुनु है। त्यो लासमा खास केहि छैन। तिमीलाई माया गर्ने आत्त्मा डायरीको साथमा सुरक्षीत छ। कुनै दिन डायरी फेला पार्‍यौ भने बिधी पुर्वक अन्त्यष्टी गरि दिनु। र मेरो एकोहोरो प्रेमबाट सदैव टाढा हुनु। मुक्ती लिनु मेरो मायाबाट।

-यादहरुको नदिलाई छेक्न अनि बाँध लगाउन सक्ने भए म कसैलाई सम्झने थिईन होला। उर्लिएर आउने तिम्रो यादको छालहरुलाई उतै रोकि दिन्थेँ। बाँधपारी। यता म चैन साथ जिउँदो हुने थिएँ। मर्ने थिइन् पल पल तिम्रो यादमा। म आफैलाई सम्झने मनलाई पनि यादको बाँध पारी नै छेकेर राखी दिने थिएँ।

-तिमीलाई आखिर कता तिरबाट सम्झन्छ???

-दिलले?

-दिमागले?

-मनले?

-ज्यानले?

मलाई थाहा भएको भए चट्ट काटेर अलग गराई दिन्थे शरिरबाट। बाँच्न सक्थेँ म दिल बिना, मन बिना, दिमाग अनि यो ज्यान बिना।

-तिमीलाई सम्झदैन थियो दिल नभए पछि। दिमाग ले तिम्रो माग गर्दैन थियो। चाहा राख्दैन थियो मन नभए पछि। दिल न मन बिनाको ज्यान के ज्यान मुर्दा जस्तै त हो। मुर्दालाई बाँच्न के गाह्रो। सजिलै बाचिदिन्थे तिमीलाई भुलेर।

-अप्रत्यक्ष छ सबै। अदृश्य छ देख्न नसकिने। मेरो छातीमा तिर घोप्छ। भाला बर्साउँछ। छुरा चलाउँछ। मुटु चिमोट्छ। सुक्नुको साटो सम्झनाको नयाँ खाटो बनाउन आशुले आखाको डिल छिचोल्छ। बारुद जस्तै बनेर खादिएको छ यादको कणहरु। मेरो दिमागमा। बिस्फोट हुन झिल्का पर्खिरहेछ। तिम्रो याद झिल्को बनेर कुन दिन प्रवेश गर्छ दिमाग भित्र। अनि त्यो दिन बारुद जस्तै खरानी हुनेछु। भस्म हुनेछु। अस्तित्व नासिने छ। काम नलाग्ने हुन्छु, बेकामको हुन्छु। म पनि यहि चाहान्छु। मलाई भस्म गराओस तिम्रो यादले। खरानी बनाओस त्यो पनि केहि काममा काम नलाग्ने।

-तिम्रो कोमल हातको औलाको टुप्पोहरु मोबाइलको स्कृन स्पर्स गर्न झन्झट मान्छ। मैले गरेका हरेक फोनहरु तिम्रो मोबाईलको स्क्रिनमा मिसकल्ड बनेर झुन्डी दिन्छ धुकधुकी स्वस बोकेर। न बाँच्न सक्छ न मर्न। मेरो प्रेम बोकेर तिमीलाई भेट्न हिडेका SMS हरु तिम्रो घृणा र तिरस्कारको कोसेली समेत बोकेर फर्कन्न। तिम्रो यादमा बग्ने आशु। एकोहोरो बर्बराउने शब्दहरु। बिपना अनि बिपना भित्रका सपनाहरु सबै दृश्यात्मक छ्न। जो हालत देखेर सप्पै मान्छेहरु “पागल” उपनाम दिएर बोलाउछ्न। हो म पागल भएको छ। आधा पागल यानिकी अर्ध पागल। जस्तै कि दर्शुवा दाउरा जस्तो। दनदनि बल्न पनि सक्दिन र निभ्न पनि। मात्रै धुवा निकाल्छ र रोमली रहन्छ आफ्नै वरिपरि।

हिजो आज म तिमीलाई यही भेट्छु। मनको बात मार्छु। प्रेम भित्रको पिडालाई केहि पर सार्छु। रुन्छु-हाँस्छु, रिसाउछु।

त्यो दिन तिम्रो लागी छुट्याईएको डायरीको ४ पानामा।